संविधानसभा मान्नुपर्छ: राजेश हमाल, पेरिस
- Nepal Samacharpatra

नायक राजेश हमालले फ्रान्सको राजधानि पेरिस पुगेर त्यहाँ आयोजित एक समारोहमा स्वच्छ तरिकाबाट संविधान सभाको निर्वाचन गरेर त्यसलाई सबैले मान्नुपर्ने धारणा अघि सारेका छन्।
आगामी डिसेम्बर महिनादेखि फ्रान्सबाट सञ्चालन गर्न लागिएको फ्रान्स-नेपाल म्यागाजिनद्वारा हालै पेरिसमा आयोजित कार्यक्रममा हमालले फ्रान्सवासी नेपालीसँग मुलुकको राजनीतिक, सांस्कृतिक र कला क्षेत्रका बारेमा आफना विचार व्यक्त गर्ने क्रममा सो धारणा राखेका हुन्। नेपालजस्तो सानो र विकासोन्मुख मुलुकको चलचित्र र यसका सम्भावनाबारे हमालको विचार मननीय थियो।
'आठ/दश वर्ष अगाडिसम्म स्वर्ण्र युगमा अघि बढिरहेको नेपाली चलचित्र उद्योग आज दयनीय अवस्थामा आइपुगेको छ, कैयौं व्यक्ति बेरोजगार भइरहेका छन् भने कतिपय सफल कलाकारहरू समेत हरेस खाएर त कतिपय शान्ति सुरक्षाको अभावमा विदेशिन पुगेका छन्। राजनीतिक अस्थिरता र अन्योलको वातावरण नै हाम्रो देशको प्रगतिको बाधक हो। यसको समाधानको निमित्त देशभित्र र बाहिरका युवाहरू उठेर अगाडि आउनुपर्छ' -हमालले कार्यक्रममा उक्त कुरा बताएका थिए।
फ्रान्सबाट विनोद खकुरेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार हमालले राजनीतिक अन्योल र अस्थिरता नै देशको हरेक क्षेत्रको विकासको बाधक भएकाले अब राजनीतिक स्थिरता हुनुपर्नेमा जोड दिएका थिए।
'विकसित मुलुकहरूले २/३ सय वर्षघि नै राजनीतिक क्रान्ति गरी राजा-रजौटाहरूलाई थान्को लगाएर आज अर्थतन्त्र, सञ्चार, विज्ञान र प्रविधिजस्ता क्षेत्रमा जोडतोडका साथ अघि बढिरहेका छन्। हामी भने अझै पनि राजनीतिक समस्यामै रुमल्लिरहनु हाम्रो दुर्भाग्य हो' -हमालको राजनीतिक विश्लेषण थियो।
फ्रान्सवासी उनका प्रशंसकहरूले अहिलेसम्म किन विवाह नगरेको - भनी सोद्धा उनले बेफुर्सदीका कारण बिहे गर्न नभ्याएको ठटयौली जवाफ दिँदै बिहेका लागि आफनो दिलको दैलो खुला रहेको बताएका थिए। अमेरिकाको न्युयोर्क र कोलम्बसमा बस्ने दिदीबहिनीबाट भाइटीका थाप्न अमेरिका जाने क्रममा उनी लन्डन हुँदै फ्रान्सको पेरिस पुगेका हुन्। केही वर्षघि दशैंको टीकाकै दिन आफनी आमाको निधन भएपछि त्यो शोकको पीडा भुल्न नायक हमाल त्यसपछिका हरेक वर्षदशैंको समयमा विदेश जाने गरेका छन्। उनी तिहारपछि मात्र काठमाडौं फर्कने छन्।
साभार : नेपाल समाचारपत्र,२०६३ असोज २८
http://www.newsofnepal.com/samacharpatra.php?sec=31&&ssc=42&&sn=758
© FRANCE NEPAL info
Lire d’autres articles de Nepal Samacharpatra